पर्सा, चैत २३ – नेपाली हिन्दू परम्पराअनुसार हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैंको पावन अवसरमा पर्सा जिल्लाको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगैलीमा आज विशेष धार्मिक कार्यक्रमका साथ मौलो पूजा सम्पन्न गरिएको छ।

उक्त मौलो पूजामा प्रहरी निरीक्षक (प्र.नि.) प्रकाश थापाको नेतृत्वमा सम्पूर्ण प्रहरी परिवारको सक्रिय सहभागिता रहेको थियो। पूजा विधिपूर्वक वैदिक मन्त्रोच्चारण र संकल्पसहित सम्पन्न गरिएको हो। पूजामा राष्ट्र, जनता, प्रहरी संगठन तथा सम्पूर्ण समाजको शान्ति, सुरक्षा, ऐक्यबद्धता र समृद्धिको कामना गरिएको जनाइएको छ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगैलीमा प्रत्येक वर्ष चैते दशैंका अवसरमा मौलो पूजा गर्ने परम्परा रहिआएको छ। यस परम्परालाई कायम राख्दै यस वर्ष पनि धार्मिक, सांस्कृतिक र सामाजिक चेतनालाई जोड दिने उद्देश्यसहित पूजाको आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै प्र.नि. थापाले, “धार्मिक र सांस्कृतिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्दै, प्रहरी संगठनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ,” भनी बताए।

मौलो पूजा पश्चात कार्यालय परिसरमा प्रसाद वितरण समेत गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण प्रहरी कर्मचारीहरूले यस प्रकारको आयोजनाले आत्मबल, पारस्परिक सहकार्य र सामाजिक उत्तरदायित्वमा अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए।