काठमाडौँ – चर्चित बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही पहिलो पटक नेपाल आउने भएकी छन्। शिक्षा र अधिकारबाट वञ्चित बालबालिकाको सहयोगार्थ आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकको च्यारिटी कार्यक्रममा सहभागी हुन उनले नेपाल आउने पक्का भएको हो।

कार्यक्रमको आयोजना वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रालिले सम्हाल्नेछ। सामाजिक संस्था **‘ह्युमन रेस्पेक्ट नेपाल’**को सहकार्यमा जेठ ३ गते काठमाडौँको बौद्धस्थित हायातको चौरमा भव्य सांगीतिक प्रस्तुति हुने बताइएको छ।

नोरा फतेही मुम्बईबाट २० बढी नृत्य टोलीसहित काठमाडौँ आउँदैछिन्। ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’ जस्ता हिट गीतहरूमा उनको लाइभ प्रस्तुति रहनेछ। नेपालमा आफ्नो पहिलो यात्रा र यहाँको मायाप्रति आभार व्यक्त गर्दै फतेहीले एक श्रव्यदृश्य सन्देशमार्फत भनिन्,
“म काठमाडौँ आउन निकै उत्साहित छु। यो मेरो पहिलो भ्रमण हुनेछ। सामाजिक कार्यको यो यात्रालाई सफल बनाउन सबैको साथ र समर्थनको अपेक्षा राख्छु।”

आयोजक संस्था वल्र्डवाइड फिल्म्स नेटवर्कका अध्यक्ष देव मगरका अनुसार, नेपालमा अभिनेत्री फतेहीको माग अत्यधिक रहेकाले यस कार्यक्रममार्फत मनोरञ्जन र समाजसेवालाई जोड्ने प्रयास गरिएको हो।