काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनप्रति प्रतिक्रिया जनाउँदै सरकारले उनीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थाइल्यान्ड भ्रमणबाट स्वदेश फर्केपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारप्रति विश्वास गरेर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई धन्यवाद दिए।

“शिक्षकहरूलाई धन्यवाद दिन चाहन्छु। सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभएको छ,” प्रधानमन्त्री ओलीले भने। “पहिले पहिले त यसरी प्रदर्शन हुँदैनथ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ।”

उनले अघिल्ला सरकारले आन्दोलनलाई बेवास्ता गरेको आरोप लगाउँदै भने, “प्रदर्शन गर्‍यो, कानमा बतास नलागेपछि त्यसको मजा पनि भएन। तर हामी उहाँहरूको कुरा सुन्छौं। सरकार र शिक्षकबीच विरोध होइन, सहकार्य हुनुपर्छ। छलफल गरेर समस्या टुंग्याउँछौं।”

प्रधानमन्त्री ओलीले आन्दोलनको सट्टा वार्ताबाट पनि समाधान सम्भव हुने भन्दै भने, “यत्रो आउन जरुरी थिएन। डेलिगेशन आए पनि हुन्थ्यो। अब आइहाल्नुभयो, समस्या टुंगिन्छ। उहाँहरू जानुहुन्छ।”

यता, विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेको छ। सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारीको मुद्दा समेटेर ऐन ल्याइनुपर्ने माग गर्दै महासंघले अनिश्चितकालीन आन्दोलनलाई निरन्तरता दिएको छ।
सदनको हिउँदे अधिवेशनबाट पनि विधेयक अघि नबढेपछि महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेको हो।