रौतहट, मौलापुर नगरपालिका–८, सोनारनिया — धार्मिक आस्था र सामाजिक एकताको प्रतीकका रूपमा, आराध्यदेव श्रीराम भगवानका बाल शाखा गुहराज निषादको जन्मोत्सव राष्ट्रिय निषाद संघको आयोजनामा शनिबार एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय निषाद संघका अध्यक्ष संजीता मुखिया निषादको अध्यक्षता रहँदा, प्रमुख अतिथिका रूपमा राष्ट्रिय समता पार्टीका अध्यक्ष विजय प्रकाश निषादको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमका अगुवा चन्दन सहनी निषादले जानकारी गराएअनुसार, सो धार्मिक उत्सवमा विभिन्न जिल्लाबाट आएका विशिष्ट अतिथि, धर्मप्रेमीजन, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अवसरमा वक्ताहरूले गुहराज निषादको जीवन, आदर्श र बलिदानको स्मरण गर्दै उहाँको योगदानले समाजमा समता, न्याय र धर्मप्रतिको निष्ठाको भावना जगाएको बताएका थिए। गुहराज निषादलाई केवल धार्मिक आस्था मात्र होइन, सामाजिक न्यायको प्रतीकका रूपमा पनि चित्रण गरिएको थियो।

कार्यक्रममा स्थानीय कलाकारहरूले भक्ति संगीत, संकीर्तन, नृत्य र धार्मिक नाटक प्रस्तुत गरे, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो। विशेष आकर्षणको रूपमा बालबालिकाहरूको गीति प्रस्तुति र निषाद समाजको सांस्कृतिक झाँकीले कार्यक्रमलाई थप रंगीन बनाएको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो भने शान्तिपूर्ण वातावरणमा संकीर्तनमार्फत समापन गरियो।

यस प्रकार, धार्मिक आस्था र समाजिक एकता झल्काउने यो कार्यक्रमले निषाद समुदायको पहिचान, संस्कृति र योगदानलाई अझ प्रगाढ बनाएको छ।