बारा / बाराको बरियापुरमा यसवर्ष लागेको पञ्चवर्षीय महागढीमाई मेलाको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । शनिबार मेला व्यवस्थापन समितिले एक कार्यक्रम नै आयोजना गरेर पञ्चवर्षीय गढीमाई मेलाको आय–व्यय सार्वजनिक गरेको हो ।

जस अनुसार, यसवर्ष लागेको पञ्चवर्षीय गढीमाई मेलामा विभिन्न शीर्षकमा कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएकोमा त्यसबाट ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।आम्दानीबाट सबै खर्च कटाएर नगद १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैयाँ आम्दानी भएकोपनि समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार, गढीमाई मेलामा विभिन्न स्टलका लागि जग्गा बिक्रि, मनोरञ्जन व्यवस्थापन, विशेष दर्शन, राँगा र परेवाको व्यवस्थापन, मनत मुण्डन, पार्किगं, दानपेटी, पोखरी, गुदरी बजार, विद्युत व्यवस्थापन, धरौटी र नगरपालिकाको अनुदान गरी कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाँको आम्दानी भएको थियो । मेलामा आएका भक्तजनहरुले सुन तथा चांदीका गहनाहरु पनि भेटि चढाएको र ती गहनाहरु मेला समितिमा राखिएको समितिले जनाएको छ ।बचत भएको रकम मन्दिरको विकासमा खर्च गरिने महागढीमाई नगरपालिकाका मेयरसमेत रहेका यादवले बताए ।