पंचगावा – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र पुनःस्थापनाको पक्षमा भारत नरहेको स्पष्ट पारेका छन्।

सोमबार काठमाडौँमा गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान’ विषयक गोष्ठीमा बोल्दै देउवाले भारतले नेपालमा राजसंस्था फर्काउने कुनै प्रयास नगरेको बताएका हुन्।

उनले पछिल्ला दिनमा भारतले राजतन्त्रको पक्षपोषण गरिरहेको भन्ने हल्लालाई ‘निराधार’ भन्दै खण्डन गरे। देउवाका अनुसार भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुगेर आफू राजतन्त्रको पक्षमा नरहेको प्रष्ट पारिसकेका छन्।

“आदित्यनाथले राजा फर्काउने कुनै अभियानमा आफ्नो संलग्नता नरहेको र नेपाली जनताको इच्छालाई सम्मान गर्ने बताउनुभएको छ,” देउवाले भने, “यसले भारत नेपालको गणतन्त्र र प्रजातन्त्रप्रति प्रतिबद्ध रहेको देखाउँछ।”

देउवाले भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै भने, “उहाँको पालामा भारतले प्रजातन्त्रको पक्षपोषण गरेको तथ्य इतिहासले साक्षी छ, त्यसैले नेपालको गणतन्त्र जनआन्दोलनमार्फत स्थापित भएको हो।”

देउवाले हाल फेरि भारतले राजतन्त्र फर्काउन लागेको भनी प्रचार गरिएको विषयमा आपत्ति जनाउँदै भने, “आदित्यनाथको फोटोसहित समाचार आए पनि उहाँले आफैँले दूतावास पुगेर त्यो हल्ला खारेज गर्नुभएको छ।”

उनले नेपालको गणतन्त्र स्थापना भएको धेरै समय नभएकाले राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको उल्लेख गरे।