पर्सा – पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ स्थित वडा कार्यालयमा अपरिचित समूहले तोडफोड गरेको छ।

मंगलबार राति अज्ञात समूहले कार्यालयको ढोका फोडी प्रवेश गरी भित्र रहेका फर्निचर तोडफोड गर्नुका साथै कागजपत्र तथा फाइलहरू च्यातेको अवस्थामा बुधबार बिहान फेला परेको वडा अध्यक्ष मोहम्मद आरिफ अन्सारीले जानकारी दिएका छन्।

उनका अनुसार तोडफोड कसले र किन गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।

वडाध्यक्ष अन्सारीका अनुसार तोडफोडबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ भने घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजीका लागि प्रहरीले अनुसन्धान थालेको छ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन्।