पर्सा, सखुवा प्रसौनी — सखुवा प्रसौनी गाउँपालिकाको दमकल (बारुण यन्त्र) सेवा अहिले सखुवा प्रसौनी गाउँपालीको मात्र नभई आसपासका क्षेत्रमा पनि आगलागी नियन्त्रणका लागि एक भरपर्दो नाम बनेको छ। आगलागीको सूचना प्राप्त भएलगत्तै तुरुन्तै परिचालनमा जाने क्षमताले यस यन्त्रले धेरै ज्यान र सम्पत्तिको रक्षा गर्दै आएको छ।

ताजा उदाहरणस्वरूप, आजै पर्सागढी नगरपालिका वडा नं. ९ मा भएको आगलागीमा, सूचना प्राप्त भएको मात्र ७ मिनेटभित्रै सखुवा प्रसौनीको दमकल टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भयो। यसअघि पनि पर्सागढीमै आगलागी भएको यात्रुबाहक बसमा नियन्त्रण गर्न सफल भएको थियो।

गाउँपालिकाले २४ सै घण्टा तयारी अवस्थामा राखेको यो दमकल सेवा जुनसुकै समय, जुनसुकै स्थानमा परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ। तत्काल र प्रभावकारी उद्धारको कारण यस सेवाले जिल्लाभरका नागरिकहरूको विश्वास जितेको छ।

दमकल मात्र नभई आवश्यक परेमा एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष जसवन यादवले जानकारी दिए। उनका अनुसार गाउँपालिकाका स्थानीय बासिन्दालाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिँदै आएको छ भने आवश्यकता अनुसार अन्य क्षेत्रका लागि पनि पालिकाका सवारी साधन सहयोगका लागि उपलब्ध गराइन्छ।

“आगलागी नियन्त्रण मात्र होइन, आपतकालीन स्वास्थ्य सेवामा पनि हाम्रो पालिका अग्रसर छ,” अध्यक्ष यादवले भने।

यस प्रकारको तत्परता र सेवा भावनाले सखुवा प्रसौनी गाउँपालिकालाई जिल्लाको एक उत्कृष्ट उदाहरणका रूपमा स्थापित गराएको छ।