पर्सा — वीरगञ्जमा ‘बाल श्रमिकको उद्धार तथा दिगो व्यवस्थापन अभियान’ अन्तर्गत १७ जना बालश्रमिकको उद्धार गरिएको छ।

गत बुधबारदेखि सुरु भएको अभियानको पहिलो दिन नै होटल, रेष्टुरेण्ट, मदिरा पसल, फलफूल पसलजस्ता व्यावसायिक क्षेत्रहरूमा कार्यरत ८ देखि १५ वर्ष उमेर समूहका १७ बालकलाई उद्धार गरिएको हो।

अभियान वीरगञ्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय र श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिहरूको संयुक्त पहलमा सञ्चालन गरिएको हो। बालश्रममा संलग्न बालकहरूलाई उद्धार गरी उनीहरूको दिगो व्यवस्थापन तथा पुनःस्थापना गर्ने उद्देश्यले अभियान थालिएको महानगरले जनाएको छ।