पर्सा — सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान विभिन्न षडयन्त्रहरू भइरहेका बताएका छन्।

शुक्रवार वीरगञ्जमा आयोजित नेकपा एमाले वीरगञ्ज महानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री गुप्ताले राजावादीको नाममा चैत १५ गते काठमाडौंमा गराइएको प्रदर्शन घटनाले अस्थिरता निम्त्याउने प्रयास भएको आरोप लगाए।

“मुलुकलाई अस्थिरताको बाटोतर्फ लैजान अनेक खालका षडयन्त्रहरू भइरहेका छन्,” मन्त्री गुप्ताले भने, “तर, ती प्रयासलाई सफल हुन दिइने छैन।”

उहाँले वर्तमान सरकार दुई ठूला दलबीचको सहकार्यबाट बनेको उल्लेख गर्दै देशमा स्थायित्व र सुशासन कायम गर्ने दिशामा अघि बढिरहेको दाबी गरे। “यो सरकारले मुलुकलाई स्थायित्वको कोर्षमा लगेको छ,” उहाँको भनाइ थियो।

अधिवेशनमा बोल्दै मन्त्री गुप्ताले नेकपा एमालेलाई राष्ट्रिय शक्ति बनाइन् मात्रै मुलुकमा आमूल परिवर्तन सम्भव हुने जिकिर गरे। “जबसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुँदैन, तबसम्म मुलुकका समस्या समाधान गर्न सकिँदैन,” उहाँले भने।

मुलुकलाई सही दिशातर्फ डोऱ्याउन पार्टी संगठनलाई तल्लो तहदेखि सुदृढ बनाउनु पर्नेमा उहाँले जोड दिए। साथै, हालको राजनीतिक समीकरण मिशन ०८४ का लागि सहयोगी भए पनि एमाले कुनै मोर्चामा आबद्ध नरहेको स्पष्ट पारे।

आगामी निर्वाचनमा वीरगञ्ज महानगरपालिका अन्तर्गत ३२ वटै वडामा एमालेको विजय सुनिश्चित गर्न नेता–कार्यकर्तालाई तयारीमा जुट्न मन्त्री गुप्ताले निर्देशन समेत दिएका छन्।