पर्सा, मधेश प्रदेश — मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले वीरगञ्जस्थित सरिस्वा नदिको स्थलगत अनुगमन गर्नु भएको छ। लामो समयदेखि अत्यधिक प्रदूषित बन्दै गएको सरिस्वा नदिका विषयमा बारम्बार उठिरहेको जनगुनासोका कारण अनुगमन गरिएको हो।

नदिको अवस्था निरीक्षणपश्चात् मुख्यमन्त्री सिंहले पारवानीपुर क्षेत्रमा रहेका केही प्रमुख उद्योगमा छड्के अनुगमन गर्नुभएको छ। अनुगमन टोलीले ग्लोबल छाला फेक्ट्री, निम्बस दाना फेक्ट्री, चावासोती मिल्स, र मकाल सोप एण्ड केमिकलमा पुगेर अवलोकन गरेको बताइएको छ।

मुख्यमन्त्री सिंहका अनुसार ती उद्योगहरुले बिना प्रसोधन फोहोर पानी सिधै सरिस्वा नदिमा मिसाइरहेको पाइयो। वातावरणीय मापदण्डको घोर उल्लङ्घन गर्दै नदिमा प्रदूषण फैलाउँदै आएको पुष्टि भएपछि सम्बन्धित उद्योगहरुलाई एक महिनाभित्र प्रशोधन केन्द्र (ट्रिटमेण्ट प्लान्ट) जडान गर्न निर्देशन दिइएको छ।

“यदि एक महिनाभित्र सुधार नदेखिए कडा कार्यवाही अघि बढाइनेछ,” मुख्यमन्त्री सिंहले चेतावनी स्वरूप भन्नुभयो। प्रदेश सरकारले वातावरणीय सरसफाइ र जनस्वास्थ्यका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ।