वीरगंज — वीरगंज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ का लागि सामुदायिक तथा संस्थागत विद्यालयमा लागू हुने संयुक्त शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। महानगरभित्रका विद्यालयहरूमा परीक्षा, विदा र अतिरिक्त क्रियाकलापमा एकरुपता कायम गर्ने उद्देश्यले उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो।

महानगर प्रमुख राजेशमान सिंहले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच शैक्षिक क्यालेन्डर सार्वजनिक गर्नुभएको हो। क्यालेन्डरअनुसार शैक्षिक सत्र २०८२ मा कुल २३३ दिन विद्यालय सञ्चालनमा रहनेछ।

बैशाख ३ गतेबाट नयाँ शैक्षिक सत्र प्रारम्भ हुने र सोही दिनदेखि ८ दिनसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने जनाएको छ। क्यालेन्डरमा गर्मी तथा जाडो विदा, प्रथम र दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन, अन्तिम परीक्षा, नतिजा प्रकाशन, शैक्षिक समीक्षा तथा आगामी सत्रको तयारीसम्बन्धी कार्यतालिका समावेश गरिएको छ।

वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार कक्षाकोठा व्यवस्थापनदेखि शैक्षिक सामग्री निर्माणसम्मका विषयहरू समेत क्यालेन्डरमा उल्लेख गरिएको छ।

कार्यक्रममा महानगर प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सम्पूर्ण विद्यालयहरूलाई क्यालेन्डर अनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यक्रममा प्याब्सन, एन-प्याब्सनका प्रतिनिधि तथा विभिन्न विद्यालयका सञ्चालकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।