वीरगञ्ज, सखुवा प्रसौनी – सखुवा प्रसौनी गाउँपालिका–५ स्थित ऐतिहासिक गढीमाई मन्दिरको पुनर्निर्माण कार्य शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले शिलान्यास गर्दै पुनर्निर्माण अभियानको शुभारम्भ गरेका हुन्।

२५ लाख रुपैयाँको लागतमा बन्न लागेको यस मन्दिरको शिलान्यास समारोहमा बोल्दै मन्त्री जयसवालले गढीमाई मन्दिरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको चर्चा गरे। “गढीमाई मन्दिर यस क्षेत्रको आस्थाको केन्द्र हो। यहाँ दैनिक रूपमा महिला दिदीबहिनीहरूले श्रद्धापूर्वक पूजाआजा गर्दै आएका छन्,” उनले भने, “आगामी दिनमा यस मन्दिरको गरिमा अझ बढ्दै जानेछ।”

मन्त्री जयसवालले मन्दिरको निर्माणसँगै संरक्षण र दिगो व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। “केवल संरचना निर्माण गरेर मात्र पुग्दैन,” उनले भने, “यसको संरक्षण, व्यवस्थापन र धार्मिक पर्यटकको सुविधाका लागि दीर्घकालीन योजना आवश्यक छ।”

मन्दिर पुनर्निर्माणको सुरुआतसँगै स्थानीयवासीहरूमा उत्साह थपिएको छ। उनीहरूले मन्दिरको पुनर्निर्माणले धार्मिक पर्यटनको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय एक बासिन्दाले भने, “यो हाम्रो गाउँको गौरव हो। मन्दिर पुनर्निर्माणले आर्थिक र सामाजिक विकासमा समेत सहयोग पुर्‍याउनेछ।”