वीरगंज, चैत ३० – नयाँ वर्ष २०८२ को स्वागतमा वीरगंज महानगरपालिकाले आयोजना गरेको रात्रि बजार शनिबारका लागि स्थगित गरिएको छ। हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राका क्रममा दुई समुदायबीच भएको झडपले स्थिति तनाबपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। सोही निर्णयसँगै महानगरपालिकाले रात्रि बजार सञ्चालन नगर्ने निर्णय लिएको हो।

महानगरपालिकाले शुक्रबारदेखि आइतबारसम्म तीन दिनको अवधिमा रात्रि बजार सञ्चालन गर्ने योजना बनाएको थियो। आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजना गरिएको यो बजारमा स्थानीय उत्पादन तथा सेवाहरूको प्रदर्शन र बिक्रीको व्यवस्था गरिएको थियो। सांगीतिक कार्यक्रम, बाल मैला मनोरञ्जन र खाद्य स्टलहरूसहितको रात्रि बजारमा पहिलो दिन उल्लेख्य उपस्थिति देखिएको थियो।

शनिबारको कार्यक्रम स्थगित गरिएसँगै आइतबारको रात्रि बजार हुने नहुने निर्णय परिस्थिति अनुसार लिइने जनाइएको छ। प्रमुख जिल्ला अधिकारीद्वारा जारी कर्फ्यू आदेश हट्ने वा नहट्ने अवस्था हेरेर आइतबारको कार्यक्रमबारे निर्णय लिइने वीरगंज महानगरपालिकाले जनाएको छ।

रात्रि बजार आयोजनाको उद्देश्य वीरगंजको सांस्कृतिक र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्नु हो। नयाँ वर्षको अवसरमा आयोजना गरिएको रात्रि बजारले स्थानीय व्यवसायहरूलाई प्रवर्धन गर्ने, अबेरसम्म बजार सञ्चालनको अभ्यास बसाल्ने र शहरको रात्रिकालीन गतिविधिमा विविधता ल्याउने विश्वास गरिएको थियो। यसअघि पनि महानगरले प्रत्येक वर्ष रात्रि बजार आयोजना गर्दै आएको छ, जसले वीरगंजवासी तथा आसपासका जिल्लाका नागरिकहरूलाई उत्सवमय वातावरण प्रदान गर्दै आएको छ।

महानगरले यसपटकको रात्रि बजार आयोजनाका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेको थियो। ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगंज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

प्रशासनले कर्फ्यू आदेश लागू गरेसँगै वीरगंजको केही क्षेत्र पूर्णरूपमा निषेधित घोषणा गरिएको छ। सो क्षेत्रभित्र कुनैपनि व्यक्ति वा समूहलाई आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ। सुरक्षाको दृष्टिकोणले चालेको यस कदमले जनजीवनमा असहजता सिर्जना गरेपनि स्थिति नियन्त्रणमा लिन प्रशासनले आवश्यक भएको बताएको छ।

रात्रि बजार स्थगनबाट व्यापारी, सहभागी संस्था र सर्वसाधारणमा केही निराशा देखिए पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबै पक्षले संयम अपनाइरहेका छन्। परिस्थिति सामान्य भएमा आइतबार पुनः कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।