वीरगञ्ज, पर्सा — वीरगञ्जमा जारी कर्फ्यु आइतबार राति १२ बजेसम्म कायम राख्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्यांकन गर्दै कर्फ्यु यथावत् राख्ने निर्णय गरेको हो।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार बैठकले शनिबार साँझ घटेको घटनाको समीक्षा गर्दै धार्मिक सद्भाव भड्कन नदिन सबैलाई संयमित रहन अपिल गर्ने निर्णय पनि गरेको छ।

आईतबार बिहानदेखि वीरगञ्जमा सुरक्षा निकायको बाक्लो उपस्थिति देखिएको छ। निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत वा भेला नभएको जनाउँदै स्थानीय प्रशासनले सामाजिक सञ्जालमा आएका केही भ्रामक भिडियोहरू प्रति सचेत रहन सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियोहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार कर्फ्यु उल्लंघनको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको छ। आइतबार बिहान १० बजेसम्म विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ र कर्फ्यु क्षेत्रभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ।