जनकपुरधाम — मधेश प्रदेश सरकारविरुद्ध जनमत पार्टीले प्रर्दशन गरेको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि जनमत पार्टीका नेताहरूले सरकार र सरकारका मन्त्रीविरुद्ध प्रर्दशन गरेका हुन्  ।

मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार छ । तर नेताहरूले सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका छन् ।

योजना खरिद-बिक्रीका सन्दर्भमा छानबिन गर्न, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा एउटा पनि योजना नदिएको भन्दै पुरक परियोजनाबाट बजेट विनियोजन गर्न माग गर्दै प्रर्दशन गरेको पार्टीका नेता डा. प्रशन्नकुमार झाले बताए ।

प्रर्दशनमा सहभागीहरूले ‘भ्रष्ट मन्त्रीलाई कारबाही गर’, ‘योजना खरिद-बिक्री गर्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । सो ज्ञापनपत्रमा जनकपुरधामको सार्वजनिक सम्पत्ति संरक्षण गर्न र अतिक्रमण हटाउनसमेत माग गरेको उल्लेख छ ।