वीरगञ्ज, चैत ३१ – हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा उत्पन्न विवादलाई समाधान गर्न सर्वदलीय बैठक बसेको छ। जिल्ला प्रशासन कार्यालय, पर्सामा आज सम्पन्न उक्त बैठकले आपसी सद्भाव कायम गर्ने उद्देश्यले तीन बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो।

बैठकमा सहभागी प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मेलमिलापको भावना बोकेर सबै समुदायलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्। विविधतामा एकता कायम राख्दै समतामूलक समाज निर्माण गर्न सबै धर्म र सम्प्रदायका संघ–संस्थाहरूलाई सक्रिय भूमिका खेल्न अपिल गरिएको छ।

बैठकले धार्मिक वा सामुदायिक गतिविधिका नाममा बन्द, ¥याली वा अशान्ति निम्त्याउने कार्य नगर्ने प्रतिबद्धता जाहेर गर्दै, शान्ति र अमनचयनमा खलल नपुग्ने गरी व्यवहार गर्न सबैलाई आग्रह गरेको छ।

साथै, झडपमा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार सरकारले गर्नु पर्ने माग पनि बैठकबाट उठाइएको छ। हनुमान जयन्तीको शोभा यात्रामा विवाद सिर्जना गर्ने व्यक्तिहरूलाई कानूनी दायरामा ल्याएर आवश्यक कारबाही गर्न पनि जोड दिइएको छ।

सर्वदलीय बैठकले वीरगञ्जमा शान्ति, सद्भाव र आपसी सहमति कायम गर्न सम्पूर्ण नागरिकहरूलाई जिम्मेवार र सजग बन्न अपिल गरेको छ।