पर्सा, ५ बैशाख — पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ सोनवर्षामा निर्माण गरिएको नयाँ स्वास्थ्य चौकी भवनको शुक्रबार समुद्घाटन गरिएको छ।

उक्त भवनको उद्घाटन जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले गरेका हुन्। समारोहमा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महत्तो र प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको समेत उपस्थिति रहेको थियो।

उपाध्यक्ष महत्तोका अनुसार करिब ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो दुई तले सुविधासम्पन्न भवनमा जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ। भवनमा ओपीडी, लेबर रुम, शौचालयसहित कूल ६ वटा कोठाहरू रहेका छन्।

गाउँपालिका अध्यक्ष चौधरीले संघीय संरचना लागू भएपछि वडा नम्बर ३ मा स्वास्थ्य चौकी सञ्चालनमा नरहेको अवस्थालाई ध्यानमा राख्दै स्थानीयको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नयाँ भवन निर्माण गरिएको जानकारी दिए। “अब वडाका नागरिकलाई सामान्य स्वास्थ्य उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता हटेको छ,” उनले भने। साथै, उनले छिट्टै उक्त स्वास्थ्य चौकीबाट प्रसूति सेवा पनि सुरु गर्ने तयारी भइरहेको बताए।

वडाध्यक्ष माधवप्रसाद राय थारुको अध्यक्षता र गाउँपालिका अध्यक्ष चौधरी तथा उपाध्यक्ष महत्तोको विशेष आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विजय गैरे, स्वास्थ्य शाखा प्रमुख भोजेन्द्र यादव, स्वास्थ्य चौकीका इञ्चार्ज दिपनारायण चौधरी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय अगुवा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।