पोखरा, ५ बैशाख — गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि र अस्थिरता निम्त्याउने कुनै पनि प्रयास सह्य नहुने बताएका छन्।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै मन्त्री लेखकले पूर्वराजावादी वा कुनै पनि नाममा संविधानमाथि आघात पुर्‍याउने कार्य कारबाहीको दायरामा ल्याइने चेतावनी दिए।

“वर्तमान संविधान ठूलो बलिदानी र संघर्षबाट प्राप्त भएको हो,” उनले भने, “यसको रक्षाका लागि सबै क्षेत्र सधैं तयार रहनुपर्छ।” उनले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट लोकतान्त्रिक संविधानको रूपमा मूल्यांकन गरे।

नेपालमा सात दशकमा सातवटा संविधान बनिसकेको उल्लेख गर्दै उनले बारम्बार संविधान निर्माण हुनु राम्रो संकेत नभएको बताए। संविधानभित्र रहेर आलोचना गर्न पाइने भए पनि त्यसको विरोधका नाममा हिंसा र अराजकता फैलाउने कार्य कदापि स्वीकार्य नहुने उनले प्रस्ट पारे।

मन्त्री लेखकले संविधान निर्माणको १० वर्ष पुगेको सन्दर्भमा आवश्यक परेमा सबै पक्षको सहमतिमा संशोधन सम्भव हुने धारणा पनि व्यक्त गरे।

गोष्ठीमा हाल नेपालमा बढ्दो लागुऔषध प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध र प्राकृतिक विपद् लगायतका चुनौतीको उल्लेख गर्दै गृहमन्त्रीले ती समस्याको समाधान गर्न सरकार निरन्तर क्रियाशील रहेको जानकारी दिए।

जनतालाई प्रभावकारी र प्रविधिमैत्री सेवा दिनु आवश्यक रहेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयहरूलाई संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्दै सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्राकृतिक विपत्तिको दृष्टिले अति संवेदनशील प्रदेश भएको उल्लेख गर्दै सरकार विपत्तिको पूर्वतयारी र प्रतिकार्यमा गम्भीर रहेको बताए। उनले प्राकृतिक विपत्तिमा सहजीकरणका लागि १० करोड रुपैयाँभन्दा बढीको कोषसमेत विनियोजन गरिएको जानकारी गराए।

गोष्ठीमा प्रदेशभरिका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गृहमन्त्री लेखकले संघ सरकार मातहतको आपतकालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण पनि गरे। उनले सो गोदाम आपत्कालीन समयमा प्रभावकारी व्यवस्थापन र राहत वितरणमा महत्वपूर्ण हुने बताए।