सिराहा, ५ बैशाख — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ सिराहास्थित प्रादेशिक अस्पतालको अनुगमन निरीक्षण गरेका छन्।

मुख्यमन्त्री सिंहले आकस्मिक कक्षसहित विभिन्न विभागहरूमा उपलब्ध जनशक्ति, औषधि, उपकरण तथा चिकित्सकीय सेवाको तत्परता र गुणस्तरीयताको अवस्थाबारे जानकारी लिएका हुन्।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले सिराहा अस्पतालले ठूलो जनसंख्या ओगटेको क्षेत्रलाई सेवा दिइरहेकाले अस्पतालका कमीकमजोरी सुधार गर्दै सेवा विस्तारमा सरकार प्रतिबद्ध रहेको बताए।

“अस्पतालका संरचना तथा सेवा सुविधाको प्रभावकारिता वृद्धि गर्न आवश्यक बजेट विनियोजन गरिनेछ,” मुख्यमन्त्री सिंहले भने। यद्यपि हाल देश र प्रदेशको आर्थिक अवस्था कमजोर रहेकाले एकैचोटि ठूलो रकम विनियोजन गर्न नसकिने भए पनि आवश्यकताअनुसार बजेट क्रमशः उपलब्ध गराइने उनको भनाइ थियो।

मुख्यमन्त्री सिंहले अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति अभाव तत्काल समाधान गर्न प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत प्रक्रिया अघि बढाइने जानकारी पनि दिए।

अस्पतालको सरसफाइ तथा आधारभूत व्यवस्थापनमा नागरिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले सेवा प्रदायक र सेवाग्राही दुवैको जिम्मेवारी बराबरी महत्त्वपूर्ण रहेको बताए। साथै, उनले एक जना बिरामीमा धेरै कुरुवा भेला हुँदा सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुने भएकाले त्यसतर्फ समेत सजग रहन आग्रह गरे।

मुख्यमन्त्री सिंहको निरीक्षणसँगै अस्पताल सेवामा सुधारको अपेक्षा स्थानीयवासीहरूले व्यक्त गरेका छन्।