काठमाडौं, — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संयुक्त राष्ट्रसंघीय स्थायी मञ्च “Permanent Forum on Indigenous Issues (UNPFII)” को चौबीसौँ सत्रमा सहभागी हुन शुक्रबार अमेरिका प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा यही वैशाख ८ देखि १९ गतेसम्म (अप्रिल २१ – मे २) चल्ने उक्त फोरममा मन्त्री गुप्ताले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने कार्यक्रम छ। उनी वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।

यूएनपीएफआईआई आदिवासी जनजाति समुदायसँग सम्बन्धित विषयहरूमा संयुक्त राष्ट्रसंघको प्रणालीभित्र समन्वयकारी निकायको रूपमा कार्य गर्दै आएको एक प्रभावशाली अन्तर्राष्ट्रिय मंच हो। यो निकाय संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) अन्तर्गत सल्लाहकार भूमिकामा पनि रहेको छ।

उक्त सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति संरक्षण, वातावरणीय न्याय, शिक्षा, स्वास्थ्य र मानवअधिकारसम्बन्धी विषयमा व्यापक छलफल हुने बताइएको छ। साथै, आदिवासी जनताको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको कार्यान्वयनका विषयमा सदस्य राष्ट्रहरूको अनुभव आदान–प्रदान र चुनौतीहरूको पहिचान गरिनेछ।

नेपालबाट मन्त्री गुप्ताको यो सहभागिता आदिवासी जनजातिका सरोकार र अधिकार अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गर्न महत्त्वपूर्ण हुने सरकारको धारणा छ।