संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सकिने संकेत गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूहद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालका सञ्चालकहरुले तोकिएको समयमा दर्ता प्रक्रिया पूरा नगरेको जनाउँदै, संविधान तथा कानुनअनुसार दर्ता नगरेमा ती सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने बताउनुभयो।

मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जालको नियमन आवश्यक छ, किनभने यिनै माध्यमबाट समाजमा फेक आइडीमार्फत विकृति फैलाउने, हिंसा भड्काउने र राष्ट्रिय स्वाभिमानमा आँच आउने खालका गतिविधि भइरहेका छन्।

“सामाजिक सञ्जालमा विदेशी प्रभाव बढ्दो छ, जसले नेपालको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बलाउने खतरा बढाएको छ,” मन्त्री गुरुङले भन्नुभयो। नेपाल विभिन्न जातजाती, धर्म र संस्कृतिको साझा थलो भएको भन्दै उहाँले धार्मिक सहिष्णुतामा खलल पुग्ने खालका प्रचारप्रसारप्रति चिन्ता व्यक्त गर्नुभयो।

उहाँले सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएको कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक समेत रोकिएको उल्लेख गर्दै, अब पत्रकार महासंघलगायत सरोकारवाला निकायसँग छलफल गरेर विधेयक अघि बढाइने जानकारी दिनुभयो।