काठमाडौं — कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अबका दिनमा कानूनहरू छिटो पारित हुने गरी काम अघि बढेको बताउनुभएको छ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले अबदेखि सम्बन्धित मन्त्रालयको मात्र विषय समेटेर कानून संशोधनको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

सांसद सोविता गौतमले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधन प्रस्तावहरू भएकाले प्रक्रिया ढिलो भएको” बताउनुभयो। अब भने विधेयकहरू छोटो, स्पष्ट र उद्देश्यकेन्द्रित बनाइने उहाँको भनाइ छ।

त्यसैगरी, नेपाल ग्रे लिस्टमा परेको विषयलाई लिएर अहिलेको सरकारलाई दोष दिने प्रवृत्तिप्रति उहाँले आपत्ति जनाउनुभयो। “वास्तविक तथ्य नबुझीकन वर्तमान सरकारका विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ,” मन्त्री चौरसियाले भन्नुभयो।