पर्सा – सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले आफ्नो गाउँ एकडेरवामा अचानक भएको आगलागी नियन्त्रणमा निर्णायक भूमिका निभाएका छन्।

शनिवार दिउँसो एकडेरवा गाउँमा अचानक भीषण आगलागी भएको थियो। आगलागीपछि गाउँमा त्रासको वातावरण सृजना भएको थियो। तर, घटनाको खबर प्राप्त भएपछि अध्यक्ष यादव तुरुन्तै घटनास्थलमा आफैं पुगेर स्थिति सम्हाल्न पहल गरेका थिए।

उहाँले तत्काल गाउँपालिकाको बारुन यन्त्र (दमकल) बोलाएर आगो नियन्त्रणमा ल्याउन निर्देशन दिए। समयमै दमकल पुग्नुका साथै स्थानीयवासी, प्रहरी र स्वयं अध्यक्ष यादवको सक्रिय सहभागिताले आगो अन्यत्र फैलिन पाएन। जसका कारण ठूलो मानवीय र भौतिक क्षति हुनबाट गाउँ जोगिएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार अध्यक्ष यादव आफैं घटनास्थलमा रही सुरक्षात्मक उपायहरूमा जुट्नु निकै प्रशंसनीय थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा अध्यक्ष यादव दमकल टोलीसँग मिलेर आगो निभाउने प्रयासमा देखिन्छन्।

अध्यक्ष यादवले भने, “जनताको सुरक्षाका लागि जुनसुकै घडीमा म सधैं तयार छु। जनताप्रति उत्तरदायी हुनु मेरो धर्म र कर्तव्य हो।”

घटनास्थलमा प्रहरी टोली र स्थानीय बासिन्दाहरूको सहकार्यले पनि आगो नियन्त्रणमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। यस घटनाले गाउँपालिकाको विपद् व्यवस्थापन प्रणालीको प्रभावकारिता झल्काएको छ।