पर्सा,— पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ पाडेपुरस्थित सडकखण्डमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृतक ३० वर्षीय विहारी राम जीराभवानी गाउँपालिका–२ का बासिन्दा हुन्।

ग.५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार विहारी रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। दुर्घटनामा मोटरसाइकल चालक बृजकिशोर राम घाइते भएका छन्। उनको बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रहरीका अनुसार विहारी रामलाई दुर्घटनापछि तत्काल अस्पताल पुर्‍याउन लागिएको थियो, तर बाटोमै उनको मृत्यु भयो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।