पंचगावाँ, ८ वैशाख/

पर्सा जिल्लामा रहेका केही खोलाहरूको टेन्डर भएको छ भने केही खोलाहरूको अहिलेसम्म टेन्डर हुन सकेको छैन र त्यस्ता खोलाबाट भने तस्करी जारी छ ।

पटेर्वासुगौली गाउँपालिका अन्तर्गतको भलुवाही खोलाको टेन्डर ४८ लाख रुपैयाँमा लागेको छ । जीराभवानी गापा अन्तर्गत भलुवाही खोलाको टेन्डर २९ लाख ५० हजारमा गरिएको छ । यी खोलाहरूबाट गिट्टी, बालुवा, ढु·ा जस्ता नदीजन्य पदार्थको बिक्री भएर पालिकाहरूको आम्दानी बढेको छ ।

तर सखुवाप्रसौनी र पटेर्वासुगौली गापाको बीचमा पर्ने जमुनिया खोला विवादित बनेको छ । पटेर्वासुगौलीले दुईपटक टेन्डर आह्वान गरे पनि सीमा विवाद र स्थानीयको असहयोगका कारण ठेकेदारहरूले टेन्डर भर्न मानेनन् र अहिलेसम्म ठेक्का लाग्न सकेको छैन ।

ऊर्जा इन्जिनीयर निर्मल सिंहका अनुसार विवाद समाधान भएपछि मात्र खोलाको टेन्डर प्रक्रिया अघि बढ्नेछ । सखुवाप्रसौनी गापाध्यक्ष जशवन्त यादवले खोलाको वातावरणीय परीक्षण प्रतिवेदन तयार भइसकेको र आगामी आर्थिक वर्षमा टेन्डर गरिने बताए । जमुनिया खोलाबाट वार्षिक ८० लाख रुपैयाँ गापालाई आम्दानी हुने गरेको छ र ठेक्का नलाग्दा यस आवमा सो बराबरको क्षति भएको छ ।

यसैगरी, पर्सागढी नपामा पर्ने कर्जनिया र सिंघाई खोलाको टेन्डर पनि हुन सकेको छैन । दुवै खोलाको वातावरणीय परीक्षण प्रतिवेदनमा ढिला भएको र समयमा टेन्डर आह्वान नहुँदा पालिकाले दुईपटक निकालेकोमा ठेकेदारहरूले टेन्डर भर्न उत्सुकता देखाएनन्, जसले गर्दा दुवै खोलाको ठेक्का लाग्न सकेको छैन । दुवै खोलाको ठेक्का नलाग्दा लाखौंको आन्तरिक राजस्व गुमेको छ ।

ठेक्का लाग्न नसकेका खोलाहरूको भने दोहन जारी छ । एकाबिहानै र राति तस्करहरूले नदीजन्य पदार्थको दोहन गर्दै आएका छन् र यसमा सरोकारवाला निकायहरू मौन देखिएका छन् । पालिका, सुरक्षाकर्मी, वनकर्मीहरूले ठेक्का नलागेका खोलाहरूको अनधिकृत दोहन रोक्न सघाएको पाइएको छैन, जसले गर्दा दैनिक ५०औंको सङ्ख्यामा ट्याक्टरबाट नदीजन्य पदार्थ चोरी तस्करी भइरहेको छ ।