पंचगावाँ, शिक्षकहरूको पेशागत हकहितको माग पूरा गराउन देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहेका कारण पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । शिक्षा मन्त्रालयले यो शैक्षिकसत्रका लागि वैशाख २ देखि ७ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन कार्यसूची बनाएको थियो । तर आज वैशाख ८ गते भइसक्दा पनि यो अभियान सञ्चालनमा आउन सकेको छैन ।

पर्सा जिल्ला मात्र होइन देशभरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालनमा आएको छैन । शिक्षकहरूको आन्दोलनले भर्ना अभियान प्रभावित भएको भन्दै हिजो आइतवार वीरगंज महानगरमा पर्सा जिल्लाका पालिका अध्यक्ष, उपाध्यक्ष र शिक्षा शाखा प्रमुखहरूको बैठकले आज वैशाख ८ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोअनुरूप बैठकमा सहभागी पालिकाहरूको शिक्षा शाखाले विद्यालयहरूलाई भर्ना अभियान सञ्चालनका लागि पत्राचारसम्म गरेको थियो तर आज भर्ना अभियान भने सञ्चालन गर्न सकेन ।

पर्सागढी नपाले वैशाख ७ गते निर्णय गरी नगरभित्रका सबै विद्यालयलाई आज वैशाख ८ देखि १५ गतेसम्म अनिवार्यरूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । तर नगर शिक्षा शाखाले पठाएको निर्देशनको बावजूद अधिकांश सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले अभियान शुरू गर्न अस्वीकार गरे । नेपाल शिक्षक महासङ्घ पर्साले आन्दोलनबाट सरकारले माग सम्बोधन नगरुन्जेल जिल्लामा सबैखाले शैक्षिक गतिविधि ठप्प पार्न निर्देशन जारी गरेको छ । यो निर्देशन महासङ्घले देशभरका जिल्ला र पालिकाहरूमा पठाएकोले अहिले भर्ना अभियानलगायतका शैक्षिक गतिविधिहरू ठप्प छन् ।

शिक्षा शाखा प्रमुख कपिल लामिछानेले पालिकाका सबै सामुदायिक विद्यालयलाई तोकिएको मितिमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न भनिएको र कार्यान्वयन नगर्ने विद्यालय र विद्यालय व्यवस्थापन समितिमाथि आवश्यक कारबाहीसमेत हुने चेतावनी दिएका थिए । पालिकाको यो पत्रको पनि वास्ता गरिएको छैन र आज कुनै पनि विद्यालय खुलेनन् र भर्ना अभियान पनि भएन ।

वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले महानगरमा रहेका शिक्षकहरूले अँन्तरिक तयारी गरिरहेको तर बाहिरी आवरणमा भने विद्यालय भर्ना अभियान सञ्चालन नभएको बताए । उनले महानगरमा रहेका शिक्षकहरूलाई आन्दोलन सकिएसँगै तयारीमा जुट्दा समस्या हुने भनेर आन्तरिक तयारीका लागि आग्रह गरिएको बताए । शाखाले सबै सामुदायिक विद्यालयलाई भर्ना अभियान सञ्चालनको लागि पत्राचार गरेको तर बाहिरीरूपमा कसैले पनि नसघाएको बताए ।

हिजो महानगरको बैठकमा सहभागी भएका पालिकाहरूले यसैगरी शिक्षा शाखामार्पmत आआफ्नो पालिकाका सामुदायिक विद्यालयहरूलाई आजदेखि अनिवार्यरूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेको थियो तर जिल्लाभरिका १४ वटै पालिकामा रहेका ३५२ वटा विद्यालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेनन् ।

पर्सा जिल्लाका १४ पालिकामा ३५२ वटा सामुदायिक विद्यालय छन् भने त्यसमा एक लाख २७ हजार ३३५ जना विद्यार्थी अध्ययनरत रहेको गत वर्षको तथ्याड्ढबाट देखिन्छ । प्रत्येक वर्ष जिल्लामा करीब ३५ हजारको हाराहारीमा विद्यार्थीहरू भर्ना हुने गरेका छन् । गत वर्षको तथ्याड्ढ अनुसार बालविकासमा ६३ हजार ८००, आधारभूत तहमा ३० हजार ८५६ र माविमा १५ हजार ६०७ जना विद्यार्थी अध्ययनरत छन् ।