पर्सा,— पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ स्थित चाफिमा गाउँपालिका अध्यक्ष दिनेश चौधरीले कज्वे पुल निर्माणको शिलान्यास गरेका छन्। खोलामा पुल बन्ने भएपछि स्थानीयवासी अत्यन्त खुसी भएका छन्।

करीब १९ लाख रुपैयाँको लागतमा बन्न लागेको यस पुलले करिब २,००० भन्दा बढी घरपरिवारलाई प्रत्यक्ष लाभ पुर्‍याउने गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए। पुल निर्माण भएपछि स्थानीयहरूले सुरक्षित, सहज र वर्षभरि आवतजावत गर्न सक्ने भएका छन्।

स्थानीयवासीहरू लामो समयदेखि गादी खोलामा पुलको अभावले विभिन्न समस्याहरू झेल्दै आएका थिए। बर्खायाममा खोला बढ्दा यात्रा जोखिमपूर्ण हुने, बाढीले मानिस बगाउने सम्मका घटनाले स्थानीयलाई त्रासमा पारेको थियो। यस्तो समस्याबाट मुक्त गर्न गाउँपालिकाले ठेक्कादारमार्फत कज्वे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत राहत

पुल नहुँदा आकस्मिक स्वास्थ्य सेवामा समेत गम्भीर समस्या आइरहेको थियो। विशेषतः गर्भवती महिला, बिरामी र ज्येष्ठ नागरिकहरूलाई खोला पार गर्न अत्यन्त कठिनाइ हुने गरेको थियो। त्यस्तै, विद्यालय जाने बालबालिकाहरूले बाढीको समयमा विद्यालय छुटाउने, ढिलो पुग्ने वा जोखिम मोलेर खोलाबाट तर्नुपर्ने बाध्यता भोग्नुपरेको थियो।

व्यापार तथा स्थानीय विकासमा योगदान

गाउँपालिका उपाध्यक्ष ममता महत्तोका अनुसार, पुलले स्थानीय व्यापार र आवागमनमा सहजता ल्याउनेछ। “अहिलेसम्म स्थानीयहरूलाई बजार र किनमेलका लागि लामो बाटो हिँड्नुपर्थ्यो, अब पुल बनेपछि सजिलै बजारसम्म पुग्न सकिनेछ,” उनले भनिन्।

स्थानीयवासी दीपक कुमारले भने, “वर्षौंदेखिको समस्या अब समाधान हुँदैछ। हामी अब सुरक्षित र सहज यात्रा गर्न सक्ने भयौं।” वडाध्यक्ष विजय श्री गैरेले पनि पुल निर्माणले सामान ढुवानीदेखि हरेक क्षेत्रमा सहजता ल्याउने बताए।

शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न

शिलान्यास कार्यक्रम वडा अध्यक्ष विजय श्री गैरेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिनेश चौधरी र उपाध्यक्ष ममता महत्तोको विशेष आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष प्रत्याशी सुलमान अन्सारी, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, चाफिवासी, महिलाहरू र अगुवा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले गाउँपालिका र सम्बन्धित निकायलाई धन्यवाद दिँदै आगामी दिनमा सडक विस्तार, विद्युत्, खानेपानी तथा अन्य पूर्वाधार निर्माणमा प्राथमिकता दिन आग्रह गरेका छन्।

वडाध्यक्ष गैरेका अनुसार, “यो पुलले केवल यात्रा सजिलो बनाउने मात्र होइन, आर्थिक, सामाजिक, स्वास्थ्य र शैक्षिक क्षेत्रमा समेत व्यापक सुधार ल्याउनेछ।”