वीरगंज, पर्सा — पर्सा जिल्लाको पोखरिया नगरपालिकामा सञ्चालित मालपोत कार्यालय पोखरियाले सञ्चालनमा आएको छोटो अवधिमा नै उल्लेखनीय राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी रामरेखा प्रसाद चौरसियाका अनुसार, फागुन १५ गतेदेखि वैशाख १४ गतेसम्मको दुई महिनामा कार्यालयले कुल ५८ लाख १४ हजार ४ सय ६० रुपैयाँ राजस्व संकलन गरेको हो।

चौरसियाका अनुसार सो अवधिमा १४ वटा संशोधन फाइल, ५१ वटा दाखिला खारेज फाइल, ४७ वटा हालसाबिक फाइल र ७८ वटा नामसारी फाइल गरी जम्मा १९० वटा फाइलको काम सम्पन्न गरिएको छ। यी फाइलहरूमार्फत ६ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, लिखत संख्या ५५३ वटा फाइलबाट फागुन महिनामा ९ लाख ६३ हजार ९ सय ७८ रुपैयाँ, चैत महिनामा २० लाख ६९ हजार ४ सय ८२ रुपैयाँ तथा वैशाख १४ गतेसम्म १५ लाख ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।

डिस्ट्रीक बन्धक रोक्का फाइल संख्या ४४९ बाट थप ६ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी समेत दिइएको छ।

मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी साहका अनुसार, कार्यालय सञ्चालनमा आएको छोटो समयमा नै उल्लेखनीय राजस्व संकलन हुनु सुखद पक्ष हो। उनले हालसम्म कुनै प्रस्तावित फाइल नरहेको र कार्यालयमा सेवा प्रवाह सहज रहेको बताए। साथै, सेवा लिँदा कुनै समस्या भए कार्यालय प्रमुखलाई सिधै जानकारी गराउन सेवाग्राहीहरूलाई आग्रह गरिएको छ।