पंचगावा ।। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–२ मा दैनिक ज्यालादारीमा काम गर्दै आएका महिला श्रमिकहरूले उचित पारिश्रमिकको माग गरेका छन्। उनीहरूले वडाध्यक्ष विजय गैरेलाई सात बुँदे ज्ञापनपत्र बुझाउँदै अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूको हक–अधिकार सुनिश्चित गर्न स्थानीय सरकारसँग आग्रह गरेका हुन्।

ज्ञापनपत्रमा महिला श्रमिकहरूले पुरुष सरहको काम गरे पनि ज्यालामा विभेद गरिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार खेतबारीमा काम गर्दा महिला श्रमिकलाई दैनिक ४/५ किलो धान वा करिब २५० रुपैयाँ मात्रै दिइन्छ, जबकि सोही काम गरेबापत पुरुष श्रमिकले ५०० रुपैयाँसम्म पाउने गर्छन्।

महिला श्रमिकहरूले श्रमको उचित मूल्यांकन, कार्यक्षेत्रमा सुरक्षाको ग्यारेन्टी, दुर्घटना तथा स्वास्थ्य बीमाको व्यवस्था गरिनु पर्ने माग पनि राखेका छन्। उनीहरूको भनाइमा अनौपचारिक क्षेत्रमा काम गर्दा श्रमिकहरू ठगिने, न्यूनतम ज्याला नपाउने, र सामाजिक सुरक्षाबाट वञ्चित हुने अवस्था छ।

वडाध्यक्ष गैरेले महिला श्रमिकहरूले आफ्नो अधिकारको खोजी गरेकोमा खुशी व्यक्त गरे। उनले पुरुष सरहको समान ज्याला लागू गराउन आफूपनि गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाए। गैरेले भने, “गाउँघरमा खेतबारीमा काम गर्ने महिला श्रमिकले दैनिक ज्याला ४/५ किलो धान वा २५० रुपैयाँ मात्रै पाउँछन्, जबकी त्यही काम गर्ने पुरुषले ५०० रुपैयाँ लिन्छ। अब यो विभेद हटाउन म प्रयास गर्छु।”

महिला श्रमिकहरूको यो कदमले गाउँस्तरमै श्रमिक अधिकारबारे जागरूकता फैलाउने र स्थानीय सरकारलाई जिम्मेवार बनाउने दिशामा महत्त्वपूर्ण सन्देश दिएको छ।