पंचगावा ।  आजको युगमा धेरैजसो राजनीतिकर्मीहरू स्वार्थ, पद, र व्यक्तिगत लाभमा केन्द्रित देखिन्छन्। चुनावको बेला चिल्ला भाषण दिने, बिकासको सपना देखाउने, तर चुनाव जितेपछि जनताको बीचबाट हराउने नेताहरूको संख्या थुप्रै छ। यस्ता परिवेशमा पनि केही नेताहरू भने अपवाद सावित भएका छन्, जसले जनताको माया जितेर लोकप्रियता कमाएका छन्। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं २ का वडाध्यक्ष विजय श्री गैरे त्यस्तै उदाहरणीय नेतृत्वदायी पात्र हुन्, जसले आफ्नो कर्म, निष्ठा र सेवाभावले सम्पूर्ण वडाबासीको मन जितेका छन्।

वडा नं २ मा दुइपटक निर्वाचित भएका गैरे २०७४ सालमा पहिलो पटक ४५४ मतले विजयी हुँदै वडाध्यक्ष बनेका थिए। उनले आफ्नो पहिलो कार्यकाललाई जनसेवा, पारदर्शिता र विकासको उत्कृष्ट नमूना बनाए। पुनः २०७९ सालमा स्वतन्त्र उम्मेदवार नौसाद अन्सारीलाई २७७ मतको फराकिलो अन्तरले हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भए।

शैक्षिक क्षेत्रबाट नेपाली कांग्रेसमा प्रवेश गरेका गैरे राजनितिमा इमानदारिता, दृढता र कर्मशीलताको प्रतीक बनेका छन्। वडा नम्बर २ लाई नगरकै नमुना वडा बनाउने अठोटसाथ अघि बढेका गैरेले आफ्ना योजनाहरू संघ, प्रदेश तथा नगर सरकारसँग समन्वय गर्दै सफलतापूर्वक कार्यान्वयन गर्दै आएका छन्। उनका पहलमा शैक्षिक सुधार, स्वास्थ्य सेवा, खानेपानी, विद्युत, सञ्चार, कृषि प्रवर्द्धन, रोजगारीका अवसर, खेलकुद तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको छ।

गैरेका कामहरूको विशेषता के भने, उनी आफैँ योजना स्थलमा पुगेर अनुगमन मात्र होइन, कहिलेकाहीँ निर्माणस्थलमा ढुंगा, बालुवा बोक्न समेत संकोच गर्दैनन्। वडाबासीका हरेक समस्या सुन्न र समाधान गर्न सधैं तत्पर रहने गैरेले आफ्नो पारिश्रमिकसमेत दुखी–पीडितको सेवामा खर्चिने गरेका छन्। दशैं–तिहार जस्ता पर्वमा त झनै उनी आफ्नै तलबबाट राहत वितरण गरेर वडाबासीलाई पर्व मनाउन सहज बनाउने गर्छन्।

उनको सेवा भाव त्यत्तिमै सीमित छैन; वडाका सबै नागरिकसँग प्रत्यक्ष सम्पर्क राख्दै उनी घरदैलोमै पुगेर जनचासो बुझ्ने गर्छन्। विपन्न परिवार, बृद्धबृद्धा, श्रमिकवर्ग, बिरामी र असहायहरूको लागि उनी साँच्चिकै भगवान सरह बन्न पुगेका छन्।

गैरेले वडामा पर्यटकीय स्थल ‘भौरी माई’ को प्रवर्द्धन, अस्पताल निर्माण, शैक्षिक संरचना सुधार, पुल–पुलेसा, बाटाघाटा, कृषकलाई बीउ वितरण, युवालाई व्यावसायिक कृषि तथा स्वरोजगारमुखी तालिमजस्ता परियोजनाहरूमार्फत विकासको नयाँ युग सुरू गरेका छन्।

गैरेका कार्यशैली, सोच र समर्पणले गर्दा वडा नं २ मात्रै नभई सिंगो पटेर्वा सुगौली गाउँपालिकालाई नै नमुना पालिका बनाउने दिशामा ठोस पाइला अगाडि बढेका छन्। उनले वडाको मात्र नभई पालिकाको समग्र विकासलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत जस्ता आधारभूत सेवालाई प्रमुख प्राथमिकता दिएर काम गरिरहेका छन्।

जनताको चाहना र आवश्यकतालाई बुझेर, उनीहरूकै भाषा बोल्ने र उनीहरूकै दुख–सुखमा साथ दिने नेतृत्वकारी शैलीका कारण गैरे पर्सा जिल्लामै सर्वोत्कृष्ट वडाध्यक्षको रुपमा स्थापित भएका छन्। उनले आफ्नो दोस्रो कार्यकाल पनि समर्पणपूर्वक जनअपेक्षाअनुसारको विकास कार्यमा खर्चने बताउँदै आएका छन्। जनतामाझ लोकप्रिय, व्यवहारमा नम्र, कर्ममा इमानदार, दृष्टिकोणमा दुरदर्शी तथा सेवामा निष्ठावान् विजय गैरे साँच्चिकै जनप्रतिनिधिको आदर्श परिभाषा हुन्।

निष्कर्षमा, विजय गैरेको नेतृत्व पटेर्वा सुगौली गाउँपालिकाको उज्यालो भविष्यको आधार बनेको छ। विकासका काम आफैँ उचाल्दै, जनताको सेवा आफैँ गर्दै, अप्ठ्यारा समयमा पनि साथ नछाड्ने यस्तो वडाध्यक्षको उदाहरण विरलै पाइन्छ। उनी मात्र वडाअध्यक्ष नभई, जनताको सेवक, मित्र, सहारा र आशा बनेका छन्।