पंचगावा ।।  पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष विपिन मुखियाले निचुटामा आधुनिक कृषिमा कृषकलाई आकर्षित गर्नका लागि कृषि यान्त्रीकरणका सामग्रीहरू वितरण गरेका छन्।

एक विशेष कार्यक्रम आयोजना गरी उक्त सामग्रीहरू वितरण गरिएको हो। कृषकहरूलाई स्प्रे ट्यांकी, काटा, जिंक, जाइम, चुन, त्रिपाल, सिँचाइका लागि मोटर तथा पाइप वितरण गरिएको वडा अध्यक्ष मुखियाले जानकारी दिए।

कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले सिँचाइका लागि मोटर वितरण गरिएको जनाइएको छ। वडाभरिबाट निवेदन दिएका कृषक समूह, सहकारी संस्था तथा व्यक्तिगत कृषकहरूलाई सिँचाइ सामग्रीहरू प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।

आज आइतबार आयोजित कार्यक्रममा वडा अध्यक्ष विपिन मुखियाले उक्त सामग्रीहरू वितरण गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष मुखियाले कृषिमा व्यावसायिकता अभिवृद्धि गर्दै कृषि उत्पादन वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्न सामग्री वितरण गरिएको बताए। उनले आधुनिक कृषि उपकरणहरू परम्परागत खेती प्रणालीलाई रूपान्तरण गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

वर्षौँदेखि परम्परागत खेती गर्दै आएका कृषकहरूले आधुनिक मेसिन, मल, जिंक, स्प्रे ट्यांकीजस्ता सामग्री पाउँदा खुशी व्यक्त गरेका छन्। वडा अध्यक्ष मुखियाले परम्परागत खेतीलाई आधुनिक बनाउन नै औजार वितरण गरिएको स्पष्ट पारे।