काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतवार साँझ सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा संक्रमणकालीन न्याय लगायत समसामयिक राजनीतिक विषयवस्तुमा विस्तृत छलफल भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए। उनका अनुसार, संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक दिशामा अघि बढिरहेको छ ।

अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुग्ने प्रक्रिया कत्तिको प्रभावकारी रूपमा अघि बढिरहेको छ भन्नेबारे प्रधानमन्त्रीसँग जानकारी माग गरेका थिए ।

उपमहासचिव पुनले भने, “प्रधानमन्त्रीज्यूले हालसम्म भएका प्रयास, पीडितले उठाएका मुद्दा र प्रक्रिया कहाँसम्म आइपुगेको छ भन्नेबारे स्पष्ट जानकारी दिए ।”

पुनका अनुसार, प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि पीडितहरुले सरोकार राखेको विषयमा जानकारी गराएका थिए । सोमबार अध्यक्ष प्रचण्ड र पीडित पक्षबीच छुट्टै भेटवार्ताको कार्यक्रम तय भएको छ।

टिआरसी (सत्य निरुपण तथा मेलमिलाप आयोग) सम्बन्धी प्रक्रिया र सरोकारवालाहरुको चिन्ता तथा सुझावलाई सम्बोधन गर्दै सरकार गम्भीर रुपमा अघि बढिरहेको पुनले बताए।

“संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै पक्षको सहभागिता र सहमतिमा प्रक्रिया अघि बढिरहेको छ, जुन लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक संकेत हो,” उनले थपे।

भेटवार्ताले संक्रमणकालीन न्याय टुंगोमा पु-याउन राजनीतिक तहबाट भइरहेको प्रयासलाई अझ स्पष्ट बनाएको बताइएको छ।