हरिकिशोर शर्मा ।। जिराभवानी पर्सा।। 

सीता जयन्तीको अवसरमा मधेस प्रदेश लगायतका अन्य स्थानहरुमा धुमधामका साथ सीता जयन्ती मनाइएता पनि ठोरीको पर्यटकीय क्षेत्रमा महत्वपूर्ण स्थान लिएको सीतागुफामा भने कुनै पनि कार्यक्रम भएन।प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म पर्साको ठोरीमा भएको भनी अभिव्यक्ति दिएको बेला निकै चर्चामा रहेको सीतागुफा अहिले गुमनाम बन्दै गएको छ।न त संघीय सरकारले यसलाई कुनै चासोको विषय बनायो न त प्रदेश सरकारले नै।स्थानीय सरकारले त झन् यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कुनै चासो नै देखाएन।२०७८ सालसम्म स्थानीय सरकारले सीतागुफाको शीर्षकमा केही रकम बिनियोजन गरेर धार्मिक अनुष्ठान लगाउने गरेको पाइएता पनि २०७९ मा बनेको स्थानीय सरकारले सीतागुफाको नाम पनि लिएको छैन।सीतागुफामा रामनवमी,सीता जयन्ती र बिबाह पन्चमीको दिन केही वर्ष पहिला धार्मिक उत्सब हुँदै आएकोमा अहिले केहीवर्ष यता कसैको चासो छैन।

ठोरीलाई राष्ट्रिय स्तर र अन्तरास्ट्रिय स्तरमा चिनाउन सीतागुफाको महत्वपूर्ण स्थान रहेता पनि तीनै तहको सरकारको नजर बन्द हुँदा उक्त स्थानमा आवतजावतमा समेत कठिनाइ छ।सरस्वता खोलाले गर्दा बाटो नभएको उक्त स्थानमा झुलुङ्गे पुलको सर्वे भएता पनि स्थानीय सरकारले दबाब दिन नसक्दा झुलुङ्गे पुल बन्न सकेको छैन। संघीय सरकारले र प्रदेश सरकारले कुनै चासो नदेखाएता पनि स्थानीय सरकारले आफ्नो पालीका भित्रको यस्तो महत्त्वपूर्ण स्थानलाई पहिचान गर्न नसक्नु दुखको कुरो हो। मधेस प्रदेश सरकारले सीता जयन्तीको दिन सार्वजनिक दिदा दिएको अवस्थामा ठोरी गाउँपालिकाले सीतागुफामा धर्मिक अनुष्ठान लगाएर यसको गरिमालाई उच्च बनाउँदै,ठोरीको पहिचान गराउन सार्वजनिक संघसंस्थाका कर्मचारीलाई अनिवार्य उपस्थिति गराइ सीतागुफाको गरिमालाई उचाइम पुर्‍याउन सक्थ्यो तर तेता कसैको ध्यान र चासो भएन।

आगामी दिनहरुमा सीता गुफामा राम नवमी,सीता जयन्ती र विवाह पन्चमी जस्ता महत्वपूर्ण अवसर पहिचान गर्दै बिबिध कार्यक्रमको आयोजना गर्ने हो भने पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुग्न सक्छ।