पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा अवस्थित राधेकृष्ण मन्दिरको पुनर्निर्माण कार्य शनिबारदेखि विधिवत रूपमा सुरु भएको छ। मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले २५ लाख रुपैयाँको लागतमा निर्माण हुने मन्दिरको शिलान्यास गरेका छन्।

शिलान्यास समारोहमा मन्त्री जयसवालले राधेकृष्ण मन्दिरको धार्मिक र सांस्कृतिक गरिमालाई उजागर गरे। उनले भने, “यो मन्दिर यस क्षेत्रका बासिन्दाको आस्थाको प्रमुख केन्द्र हो। यहाँ हरेक दिन गाउँघरका दिदीबहिनीहरूले श्रद्धापूर्वक पूजाअर्चना गर्छन्। आगामी दिनमा यसको महत्त्व अझै बढ्नेछ। बाबा दूधश्वरनाथ दर्शन गर्न जाने बाटोमा रहेको यो मन्दिर आवश्यकताको विषय रहेको थियो। मन्त्री प्रमोद जयसवाल ।

मन्त्री जयसवालले मन्दिरको भौतिक निर्माणसँगै यसको दीर्घकालीन संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए। “मन्दिर बनाउनु मात्र ठूलो कुरा होइन, यसको दिगो व्यवस्थापन र संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ,” उनले थपे।

मन्दिर पुनर्निर्माणको कार्य सुरु भएसँगै स्थानीय समुदायमा खुसीयाली छाएको छ। स्थानीयवासीले मन्दिरको पुनर्निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। “यो मन्दिर हाम्रो आस्थाको केन्द्र हो। यसको सुन्दर र व्यवस्थित निर्माणले यहाँको धार्मिक र सांस्कृतिक महत्त्व झनै उजागर हुनेछ,” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर यादवले भने।

मधेस प्रदेश सरकारले राधे कृष्ण मन्दिरको पुनर्निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ। यो परियोजनाले स्थानीय समुदायको धार्मिक आस्था बलियो बनाउनुका साथै क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्नामा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मन्दिर पुनर्निर्माणको शुभारम्भसँगै पटेर्वा सुगौली क्षेत्रमा धार्मिक र सामुदायिक एकताको सन्देश प्रवाह भएको छ। स्थानीयवासीले यो कार्यलाई समयमै सम्पन्न गर्न र मन्दिरको गरिमा कायम राख्न सरकारी निकायसँग सहयोगको अपेक्षा गरेका छन्।

व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर यादवको अध्यक्षता र वडा अध्यक्ष फरमान अन्सारीको विशेष आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष प्रत्याशी हरिन्दर सहनी , वडा सदस्य लिला लामा , सहमद अन्सारी, रामधनी यादव , रमेश साह सखुवा प्रसौनी -०५ को पूर्व वडा अध्यक्ष रुपलाल यादव स्वयंसेवि तथा स्थानीय अगुवा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।