हरिकिशोर शर्मा //  जिराभवानी पर्सा  //

पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आयोजित एक विशेष समारोहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष, वडा अध्यक्षलगायत सम्पूर्ण जनप्रतिनिधिहरूले आयोजना गरेको अभिनन्दन कार्यक्रमले स्थानीयवासीमा उत्साह थपेको छ। कार्यक्रममा सहभागी ठोरीवासी, विभिन्न राजनीतिक दलका नेता र आम नागरिकप्रति हार्दिक आभार प्रकट गरिएको छ।

सो अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट ठोरीवासीलाई सम्बोधन गर्दै सिँचाइ र शुद्ध खानेपानीको क्षेत्रमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरिएको छ। प्रधानमन्त्रीको सन्देश लिएर ठोरी पुगेका वक्ताले ठोरीवासीलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने कार्यमा पूर्ण प्रतिबद्धता जनाए।

कार्यक्रमकै क्रममा ठोरी गाउँपालिकाका विभिन्न वडामा निर्माणाधीन तथा सम्पन्न ओभरहेड ट्यांकी र खानेपानी योजनाहरूको स्थलगत निरीक्षण सम्पन्न भएको छ। यी योजनाहरूले स्थानीयवासीलाई शुद्ध खानेपानी र सिँचाइ सुविधा सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्रा, जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका उपाध्यक्ष प्रेमबाबु पटेल, संघीय परिषद् सदस्य तबरेज अहमद, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाललगायतको उपस्थिति उल्लेखनीय रह्यो।

ठोरीवासीको समृद्धि र सुविधाका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको छ। यो पहलले ठोरीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।