पर्सा : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं १ रामभौरी भाथा मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ।

शैक्षिक सत्र २०८२ को लागि कक्षा बालविकास देखि कक्षा ७ सम्म नयाँ भर्ना खुलेको छ। प्रधानाध्यापकले कक्षा १ देखि ७ सम्मको निःशुल्क भर्ना बारे जानकारी गराएका छन्।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो। सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न आग्रह गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेको हो।

मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई ७ बुँदे अनुरोधसहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ।

विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न/गराउन भनिएको छ।

विद्यालय भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन्। उनले समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेमा जोड दिए।