पंचगावा ।। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन माग गर्दै प्रेस सेन्टर नेपाल, पर्सा जिल्ला समितिले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यललाई ज्ञापनपत्र बुझाएको छ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रेस सेन्टरको टोलीले सञ्चारकर्मीहरूमाथि भइरहेका दमन, डरधम्की, आक्रमण तथा हस्तक्षेपका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई जिम्मेवार र संवेदनशील हुन आग्रह गरेको हो।

केन्द्रीय निर्देशनअनुसार गरिएको सो कार्यक्रममा समितिका सदस्यहरूले पत्रकारिता क्षेत्रमाथि निरन्तर भइरहेको हस्तक्षेपप्रति विरोध जनाउँदै स्वतन्त्र प्रेसको सुनिश्चितताको माग गरेका थिए। ज्ञापनपत्रमार्फत सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले ग्यारेन्टी गरेअनुसार संरक्षण गर्न तात्कालिक र प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष शिवनाथ यादवको नेतृत्वमा उपाध्यक्ष समिना रञ्जितकार, सचिव अजित भुजेल, सहसचिव बिदुर गौतम, कोषाध्यक्ष संजित गुप्ता, सदस्यहरू सन्तोष कुशवाहा, रितेश झा, सन्जोग गिरी, अशोक श्रीवास्तव, भरत सर्राफ, रुपेश वर्मा लगायतको सहभागिता थियो।

उक्त टोलीले प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भेटघाट गर्दै पत्रकारिता क्षेत्रलाई दबाबमुक्त, सुरक्षित र स्वतन्त्र राख्न सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको जनाएको थियो।

कार्यक्रमको अन्त्यमा जिल्ला सचिव अजित भुजेलले ज्ञापनपत्र वाचन गरी प्रमुख जिल्ला अधिकारी गणेश आर्यललाई कार्यकक्षमै बुझाएका थिए।