पंचगावा ।। पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरीमा विद्युत्को तार सर्ट सर्किटका कारण आइतबार दिउँसो भएको भीषण आगलागीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगलागीबाट झन्डै ६ लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय तुलसी राउत अहिरको फुसको छानो भएको घरमा सुरु भएको आगलागीले उनको घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै धानको भकारी समेत खरानी बनाएको छ। साथै, गोठमा रहेका भैँसीसमेत गम्भीर घाइते भएका छन्। स्थानीयवासीका अनुसार घाइते भैँसीको अवस्था चिन्ताजनक रहेको छ।

सोही घटनामा अर्का स्थानीय हरिन्द्र यादवको घर र धानको भकारी पनि पूर्ण रूपमा जलेर नष्ट भएको छ। त्यस्तै, नन्दु रामको धानको भकारीमा समेत आगलागीले ठूलो क्षति पुर्‍याएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले आगलागीको मुख्य कारण विद्युत्को तारमा भएको सर्ट सर्किट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। स्थानीयवासीले राहत र क्षतिपूर्तिको माग गर्दै आएका छन्। उनीहरूले विद्युत् आपूर्तिको अवस्था कमजोर रहेको र जर्जर तारका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेको गुनासो गरेका छन्।

घटनापछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा ल्याउन प्रयास गरे पनि फुसको छानो र सुख्खा मौसमका कारण आगो छिट्टै फैलिएको थियो। नजिकै दमकलको सुविधा नहुँदा आगो निभाउन थप कठिनाइ भएको र समयमै नियन्त्रण नहुँदा क्षति बढेको स्थानीयवासीले बताएका छन्।

विद्युत् प्रणालीको संरचना सुधार नगरेसम्म यस्ता घटनाको पुनरावृत्ति हुन सक्ने भन्दै स्थानीयहरू सचेत रहन र सम्बन्धित निकायलाई तत्काल ध्यान दिन माग गरेका छन्।