पंचगावा – वीरगन्ज महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचना हटाउने अभियानलाई थप तीव्र बनाएको छ। सडक, फुटपाथ र अन्य सार्वजनिक स्थललाई पैदलयात्री तथा सवारी सञ्चालनका लागि सहज बनाउने उद्देश्यले सुरु गरिएको यो अभियानलाई महानगरले निरन्तरता दिएको हो।

सोमबार वीरगन्ज–२२ जगरनाथपुरस्थित सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे रूपमा राखिएको एउटा पुरानो रोलर हटाइएको छ। नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुईवटा क्रेनको सहायताले उक्त रोलरलाई ट्रकमा लोड गरी महानगरको डम्पिङ साइटमा पुर्‍याएको नगर प्रहरी इन्चार्ज हरि भुषालले जानकारी दिए।

त्यसैगरी, बसपार्क क्षेत्रमा लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका एक/एकवटा पुराना बस र ट्रक पनि सोमबार नै हटाइएको छ। क्रेन प्रयोग गरी ती सवारी साधनहरूलाई पनि डम्पिङ साइटमा पुर्‍याइएको हो। यसअघि गत बुधबार बसपार्कबाट दुईवटा बेवारिसे बसहरू हटाइएको थियो।

महानगर प्रमुख राजेशमान सिंहले अभियानलाई निरन्तर अगाडि बढाइने स्पष्ट पार्दै भने, “हामीले पटक–पटक सार्वजनिक सूचना जारी गरेर यस्ता साधन हटाउन आग्रह गरेका थियौं। तर आग्रहको पालना नभएपछि महानगर आफैंले नियन्त्रणमा लिएर हटाउन बाध्य भयौं।”

सिंहका अनुसार वीरगन्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक शहरमा रूपान्तरण गर्न यस्ता बाधक तत्वहरू हटाउनु आवश्यक छ। “यो शहर हामी सबैको साझा घर हो,” उनले भने, “नागरिकले नियम पालन गरेमा हामी वीरगन्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौं।”

महानगरपालिकाले सडक, चोक, पार्क, बसपार्क तथा अन्य सार्वजनिक स्थानहरूमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारी साधन तथा संरचना नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा बनेको भन्दै ती हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ।

महानगरले ‘शून्य सहनशीलता’ नीति अपनाउँदै सार्वजनिक स्थानहरूमा हुने लापरवाही, अतिक्रमण र बेवास्ताविरुद्ध कडा र स्पष्ट कदम चाल्ने चेतावनी समेत दिएको छ। साथै, यात्रु, पैदलयात्री, ट्राफिक प्रहरी, साना व्यवसायी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँग सहकार्य गर्दै अभियानलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ।

महानगरले आगामी दिनमा अन्य वडाहरूमा रहेका यस्ता बेवारिसे तथा अव्यवस्थित संरचना र सवारी साधन पहिचान गरी चरणबद्ध रूपमा हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

यो अभियानले वीरगन्जको सडक क्षेत्रलाई खुला, सुरक्षित र व्यवस्थित बनाउँदै समग्र शहरको स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।