पंचगावा । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ मा पहिलोपटक ‘श्री बैरिया सिँचाइ कुलो व्यवस्थापन समिति’ नामक संस्था औपचारिक रूपमा दर्ता भएको छ। संस्था दर्ता ऐन, २०३४ को दफा ४ बमोजिम २०८१ साल फागुन ४ गते यो समिति दर्ता भई प्रमाणपत्र लिएको हो।

संस्थाको पहिलो बैठक हालै सम्पन्न भएको छ। अध्यक्ष आलमगिर अन्सारीका अनुसार, समितिको औपचारिक गठनसँगै अब सिँचाइ व्यवस्थापनको कार्य व्यवस्थित, प्रभावकारी र दीर्घकालीन हुने अपेक्षा गरिएको छ।

“पहिला किसानले जबर्जस्ती कुलो खनेर खेतमा पानी पुर्‍याउने गर्थे,” अध्यक्ष अन्सारीले भने, “तर अब संस्थागत संरचना बनेपछि काम गर्न सजिलो भएको छ।”

उपाध्यक्ष लालबहादुर यादवका अनुसार, यस क्षेत्रका किसानहरूले झण्डै ५०० वर्षदेखि ‘भाथा कुलो’बाट सिँचाइ गर्दै आएका थिए। तर वर्षायाममा कुलो भत्किने, बाँध बग्ने, र जङ्गल हुँदै पानी ल्याउनु पर्ने बाध्यताले किसानहरू सधैं जोखिममा रहन्थे।

“१२ किलोमिटर जङ्गल पार गरेर पानी ल्याउनु पथ्र्यो,” यादवले भने, “हाथी, बाघ, सर्पजस्ता जनावरको त्रासमा पनि खेती गरिरहन्थ्यौं। अब त्यो अवस्था हट्ने छ।”

समितिका सचिव रामधनी यादवले पनि अब किसानले पटक–पटक कुलो मर्मत गर्नु नपर्ने बताए। “कुलोलाई ढलान गरी स्थायी बनाउने योजना छ,” उनले भने, “अब धान, गहुँ, सुर्ती लगायतका बालीमा सहज सिँचाइ हुनेछ।”

स्थानीय कृषक हरिन्द्र सहनीले अघिल्लो अवस्था सम्झिँदै भने, “माटोको कुलो बारम्बार बगाउँथ्यो, भत्किन्थ्यो। पक्की कुलो भएपछि किसानलाई ठूलो राहत मिल्नेछ।”

स्थानीयले अब खाद्यान्न बालीसँगै तरकारी र नगदेबाली उत्पादन पनि बढ्ने आशा व्यक्त गरेका छन्। यहाँको मुख्य बालीमा मार्सी धान, गहुँ र जौ पर्दछन् भने तरकारी खेती पनि फस्टाउँदै गएको छ।

तीन बुन्दे निर्णय

संस्थाको पहिलो बैठकले तीन बुन्दे निर्णय समेत गरेको छ:

1. समितिको दर्तासँग सम्बन्धित कार्य अगाडि बढाउने।

2. सालिससँग समन्वय गर्ने।

3. काठ मुहान व्यवस्थापन गर्ने।

बैठक अध्यक्ष आलमगिर अन्सारीको अध्यक्षता र वडा अध्यक्ष फरमान अन्सारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा ३० जना कृषकहरूको उपस्थिति रहेको सचिव यादवले जानकारी दिए।

बैठकमा सहभागी कृषकहरूले सरकारलाई सिंचाइ पूर्वाधारको मजबुतीका लागि गम्भीर ध्यानाकर्षण गराएका छन्।