पंचगावा  – नेपाल वायुसेवा निगमको Twin-Otter विमान (९एन–एबीटी) नियमित उडान तालिकामा पुनः फर्किएको छ। निर्धारित वार्षिक मर्मत सम्पन्न गरी आवश्यक प्रमाणपत्र तथा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएपछि विमानलाई पुनः नियमित उडानमा परिचालन गरिएको हो।

निगमको अनुसार, विमानको Certificate of Airworthiness (C of A) तथा Maintenance Check Flight समेत पूरा गरेपछि २०८२ बैशाख २९ गतेदेखि विमान पुनः सञ्चालनमा आएको हो। यससँगै निगमका दुवै Twin-Otter विमानहरू (९एन–एबीयू र ९एन–एबीटी) पूर्ण रुपमा सञ्चालनमा आएका छन्। यसले आन्तरिक उडानमा थप सहजता ल्याउने विश्वास गरिएको छ।

नेपाल वायुसेवा निगमले विशेषगरी दुर्गम तथा नागरिक उडान सेवा आवश्यक पर्ने क्षेत्रमा Twin-Otter विमानमार्फत सेवा प्रदान गर्दै आएको छ। निगमले सेवा गुणस्तर, सुरक्षा र विश्वसनीयता कायम राख्दै यात्रुहरूलाई उत्कृष्ट सेवा दिन प्रतिबद्धता व्यक्त गरेको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक तर्फका यात्रुहरूको माग अनुसार दैनिक चार वटा उडान सञ्चालन गर्ने योजना कार्यान्वयन गर्न निर्देशन दिएका छन्। साथै, उनले उपस्थित जनशक्ति व्यवस्थापन र अन्य स्वामित्वमा रहेका विमानहरूलाई समेत उपयुक्त तालिकामा सञ्चालन गर्न निर्देशन दिएका छन्।