हरिकिशोर शर्मा । जिराभवानी ।।  पर्सा जिल्लाको ग्रामीण क्षेत्र बिन्दवासिनी गाउँपालिका–४, अमरपट्टी नाकाबाट सशस्त्र प्रहरीले भन्सार राजस्व छलेर भारतबाट अवैध रूपमा ल्याइएको ठूलो परिमाणको गँहु र चामलको कनिका बरामद गरेको छ।

बुधबार दिउँसो गरिएको अपरेसनमा अमरपट्टी नाकास्थित खेतमा भण्डारण गरेर राखिएको १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका सशस्त्र प्रहरीले फेला पारेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहका अनुसार १०६ बोरामा जम्मा ५३ क्विन्टल गँहु र २८ बोरामा ११ क्विन्टल ६४ केजी चामलको कनिका रहेको छ।

उनका अनुसार, तस्करहरूले भारतबाट भन्सार नतिरी ल्याएको उक्त सामग्री खेतमा भण्डारण गरेर राख्दै गर्दा सुराकीको आधारमा पुगेको सशस्त्र प्रहरीले फेला पारेको हो।

उक्त अपरेसन वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा र सीमा सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले संचालन गरेको थियो। बरामद गरिएको खाद्यान्नको बजार मूल्य करीब २ लाख ३१ हजार २० रुपैयाँ बराबरको रहेको बताइएको छ।

बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि सोही दिन वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्र हुँदै हुने अवैध तस्करी नियन्त्रण गर्न नियमित अनुगमन तथा कडा निगरानी जारी राख्ने जनाएको छ।