पंचगावा : पुरानो बजारलाई भत्कार लामो समयदेखी निर्माणको पर्खाईमा रहेको बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ स्थित फतेपुर बजार अब बन्ने भएको छ ।

करिब ३ करोडको लागतमा फत्तेपुरमा आधुनिक बजार बन्न लागेको हो । उक्त बजार निर्माणको बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री ज्वालाकुमारी साह र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बुधबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

संघीय सरकारको एक करोड ६० लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको एक करोड ४० लाख रुपैयाँ गरी ३ करोडको लागतमा फतेपुरमा आधुनिक बजारका संरचना निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो । बीरगञ्ज महानगरपालिका १३ को सुमितकालिका कन्ट्रक्सनले २ करोड ५२ लाख २७ हजार रुपैयाँमा उक्त निर्माण कार्यको ठेक्का सकार गरेको उपमहानगरपालिकाले जनाएको छ ।
सो बजार निर्माण कार्य २०८४ असार २० गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । फतेपुरको इतिहासलाई जीवन्त राख्ने गरी आधुनिक संरचना निर्माण गर्ने लक्ष्य उपमहानगरपालिकाले राखेको छ ।
साप्ताहिक हाटका लागि व्यवस्थित सेड,विगतमा त्यहाँ रहेका व्यवसायीहरुको व्यवस्थापन र उपमहानगरको आम्दानी समेत बढाउने उद्देश्यले पसल व्यवसाय सञ्चालनका लागि सटर कोठा, वातावरणमैत्री पकेट पार्क,खुल्ला व्यायामशाला,सार्वजनिक शौचालय लगायतका संरचना निर्माण हुने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
शिलान्यास कार्यक्रममा पुर्बमन्त्री समेत रहेका साहले आफु कृषि मन्त्री हुँदा फत्तेपुर बजार निर्माणकोलागि रु ४ करोड छुट्याउँने ईच्छा हुँदाहुँदै बजेटको अभावमा रु १ करोड ६० लाख मात्र छुट्याउँन सकेको जानकारी दिईन् ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले नगरमा हुने बिकाश निर्माणको काममा निरानी गर्ने,घचघच्काउँने र सचेत गराउँने काम नगरबासीको भएको बताए । बजार निर्माणको समयसिमा असार २५ गते सम्म मात्र भएका कारण तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले समयमै काम सम्पन्न गर्नु भुक्तानी गराउँने जिम्मा मेरो भनेर प्रतिबधता ब्यक्त गरे ।

जीतपुरसिमरा १२ का वडाध्यक्ष श्यामबाबु खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सदस्य बलबीर चौधरी, जीतपुरसिमरा उपमहानगरका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १७ का वडाध्यक्ष भिमबहादुर गंतान, वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, वडा नम्बर ७ का वडाध्यक्ष पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।