पंचगावा ।। पर्सा राष्ट्रिय निकुञ्जको सक्रियतामा कुसुमवाटीका र निर्मल मध्यवर्ती उपभोक्ता समितिको संयुक्त आयोजनामा ठोरी गाउँपालिका–४, निर्मलवस्तीमा एक कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका संरक्षक अधिकृत सन्तोष भगत, विष्णु रोक्का तथा ZSL का प्रचण्ड महर्जनले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकहरूले बाघ तथा वन्यजन्तु सुरक्षा, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र स्थानीय सहभागिता जस्ता विषयमा विस्तृत प्रशिक्षण र छलफल गर्नुभएको थियो ।

गोष्ठिमा बाघ संरक्षणमा प्रचार–प्रसार र जनचेतना अभिवृद्धिका लागि “बाघ मित्र कार्यक्रम” सञ्चालन गरिने जानकारी दिइएको थियो । सो कार्यक्रमअन्तर्गत प्रत्येक उपभोक्ता समितिबाट दुई–दुई जना बाघ मित्र प्रतिनिधि चयन गरिने निर्णय गरिएको थियो ।

निर्मल मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा सम्पन्न सो गोष्ठिको अध्यक्षता कुसुमवाटीका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय समुदाय, उपभोक्ता समितिका पदाधिकारी, संरक्षणकर्मी, विओपि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।