पंचगावाँ, ४ जेठ/ पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौलीदापमा विगत डेढ महीनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा पठनपाठनमा गम्भीर असर परेको छ । विद्युत् लाइन नहुँदा कक्षाकोठाहरूमा पङ्खा नचल्दा बढ्दो गर्मीमा विद्यार्थीहरूलाई अध्ययनमा समस्या छ नै, शिक्षकहरूलाई पनि अध्यापन गराउन हम्मेहम्मे परेको छ । यसैगरी, विद्युत् अभावमा कम्प्युटर ल्याब बन्द रहँदा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा प्रभावित भएको छ ।

विद्यालय भवन कर्कट पाताले छाएको हुँदा प्रचण्ड घाममा सो पाता तातिएर कक्षाकोठा भट्टी बन्ने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् । भट्टीजस्तो कक्षाकोठामा अध्ययन गर्दा गर्मी र पसिनाले विद्यार्थीहरूको छाला चिलाउने, घमौरा आउनेलगायतका अन्य स्वास्थ्य समस्याहरू देखा पर्न थालेका छन् । यसले नियमित पढाइमा बाधा पुग्नुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा पनि असर परिरहेको शिक्षकहरू बताउँछन् ।

विद्यालयमा १५–२० वटा कम्प्युटर भएको कम्प्युटर प्रयोगशाला भएपनि विद्युत् नहुँदा विद्यार्थीहरू कम्प्युटर विषयको प्रयोगात्मक शिक्षाबाट वञ्चित छन् । प्रविधिमैत्री शिक्षाको आवश्यकता बढिरहेको अवस्थामा विद्युतीय माध्यमबाट पठनपाठन गराउने विद्यालयको प्रयास पनि ठप्प भएको छ ।

विद्यालय प्रशासनका अनुसार विद्युत् महसूलबापत पाँच लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेकोले विद्युत् सेवा काटिएको हो । यस सम्बन्धमा विद्यालय व्यवस्थापन समितिले पटेर्वासुगौली गाउँपालिकालाई विद्युत् महसूल तिर्न र विद्युत् सेवा पुनः सुचारु गराउन अनुरोध गरेको छ ।

विद्यालय प्रशासनले स्थानीय तहको सक्रियताविना विद्यार्थीहरूको भविष्य अन्योलमा रहने बताएको छ । “हामीले पालिकालाई पटक–पटक अनुरोध गरिरहेका छौं, शिक्षाजस्तो संवेदनशील क्षेत्रमा तत्काल ध्यान दिन जरुरी छ,” विव्यसका एकजना सदस्यले बताए ।