पंचगावाँ, ६ जेठ/ सबडिभिजन वन कार्यालय, बडनिहारबाट खटिएको गस्ती टोलीले पर्सागढी नगरपालिका–९ बडेर्वाबाट काठसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जमदार जीतबहादुर तामाङ नेतृत्वको टोलीले साइकलमा लोड गरिएको अवस्थामा बिहान २ बजे सालको गोलियासहित तस्करलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने व्यक्ति पर्सागढी नगरपालिका–१ गुलरिया निवासी ३५ वर्षका रामसुरत चौधरी थारू रहेका छन् । उनले बडनिहार राष्ट्रिय वन क्षेत्रबाट अवैधरूपमा साल रूख कटान गरी सोको गोलिया ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको गस्ती टोलीका प्रमुख तामाङले बताए ।

पक्राउ परेका चौधरीको साथबाट करीब सात क्यूफिट सालको गोलिया बरामद भएको छ । उक्त गोलियासहित उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, वीरगंज पठाइएको छ ।