पंचगवाँ ।। मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको नेतृत्वमा प्रदेशका ८ वटै जिल्लामा विकासको लहर फैलिएको छ। मन्त्री यादवले ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना अन्तर्गत मधेस प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा सडक निर्माण सुरु गर्न लागिएको घोषणा गरेका छन्।

यस ऐतिहासिक योजनाको शिलान्यास आउँदो जेष्ठ १८ गते एकैपटक ६४ वटै स्थानहरूमा गरिने भएको छ। उक्त योजनाले प्रदेश भित्रको यातायात सञ्जाललाई मजबुत बनाउने विश्वास गरिएको छ।

मन्त्री सरोज यादवले भने, “मधेसको विकास हाम्रो प्रतिबद्धता हो। सडक पूर्वाधार सुदृढीकरण मार्फत रोजगारी सिर्जना, आर्थिक गति र जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने हाम्रो लक्ष्य छ।”

सडक शिलान्यासका लागि सबै प्रशासनिक प्रक्रिया पूरा भइसकेको छ र निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्ने गरी योजना तयार पारिएको बताइएको छ। यस कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा गुणस्तरीय कालोपत्रे सडक निर्माण गरिनेछ।

स्थानियवासीहरू र प्रदेशवासीहरूले मन्त्री यादवको यो कदमको खुलेर प्रशंसा गरेका छन्। उनीहरूको अनुसार, “पहिलोपटक यस्तो योजनाबद्ध ढंगमा सबै निर्वाचन क्षेत्रमा एकैसाथ काम थालिएको देख्दा मधेसले साँच्चै विकासको बाटो समातेको अनुभूति भएको छ।”

यस एतिहासिक योजनाले मधेस प्रदेशको भौतिक पूर्वाधारको विकासमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।