पंचगावाँ ।।  सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा अन्तर्गतका विभिन्न गुल्म तथा बोर्डर आउट पोस्ट (बिओपी) बाट खटिएको टोलीहरूले भारत–नेपाल सीमाक्षेत्र हुँदै ओसारपसार गरिएको अवैध सामान बरामद गरेका छन्। बरामद सामानहरूको कुल मूल्य रु. १०,८४,१९०।– बराबर रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) एवं सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

प्राप्त विवरणअनुसार, सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरूबाट भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली चोरी पैठारी तथा निकासी गरिरहेको अवस्थामा रु. ८,३७,१२०।– बराबरका विभिन्न प्रकारका सामानहरू बरामद गरेको हो। ती सामानमा दुई थान मोटरसाइकल, किराना, तयारी कपडा, मोबाइल पार्ट्स, मोटर पार्ट्स, फलफूल, मदिरा आदि परेका छन्।

उक्त सामानहरू अवैध रूपमा ओसारपसार गर्न प्रयोग गरिएका मोटरसाइकलसहित नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, आजकै मितिमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले अलौ तथा कोनिया इलाकाबाट रु. १,१८,२००।– बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

यस्तै, बीओपी प्रसौनीभाठा र बीओपी सिर्सिया बाट खटिएको टोलीले पनि संयुक्त रूपमा रु. १,२८,८७०।– बराबरको अवैध सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी सशस्त्र प्रहरी स्रोतले दिएको छ।

सशस्त्र प्रहरीले सीमाक्षेत्र हुँदै हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न निगरानी तथा गस्ती कार्यलाई अझ प्रभावकारी बनाइएको जनाएको छ।