पंचगावाँ ।। , जेठ ११ — जिराभवानी पर्सा अन्तर्गत ठोरी गाउँपालिका वडा नं. ४ को आयोजनामा सञ्चालित तीन दिने महिला नेतृत्व क्षमता विकास तालिम आज सम्पन्न भएको छ।

वडा कार्यालयको सभाहलमा जेठ ९ गतेदेखि सुरु भएको तालिममा नेपाल टेलिभिजनकी पर्सा संवाददाता लक्ष्मी खरेलले प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा सहभागी महिलाहरूलाई नेतृत्वदायी भूमिकामा सशक्त बनाउन आवश्यक सीप, अभिव्यक्ति तथा व्यवहारिक पक्षहरूमा प्रशिक्षण दिइएको थियो।

समापन समारोहमा सहभागीहरूले तालिममा सिकेका सीपहरू डेमोको रूपमा प्रस्तुत गरेका थिए।

कार्यक्रम वडा नं. ४ का वडाध्यक्ष मान बहादुर थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साकी सदस्य सुशीला बिकको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा कार्यपालिका सदस्य देविमाया थिङ, वडा सदस्य कृष्ण बहादुर खत्री र पदम श्रेष्ठ, निर्मल ठोरी साना किसान सहकारी संस्थाका अध्यक्ष खगेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो।

तालिमकै सहभागी देवकी श्रेष्ठले सञ्चालन गरेको समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट खेम कुमारी पाण्डे, तारा श्रेष्ठ, उर्मीला सुनार, ज्ञानुमाया श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।

उक्त तालिमले महिलाहरूको नेतृत्व क्षमतामा अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।